Saturday, November 17, 2007

सन्धिखर्कमा एकादशीको लागि तयारी पुरा

सन्धिखर्क/काठमाडौं-सन्धिखर्कमा हरिबोधनी अर्थात ठूलो एकादशीको लागि पुरा तयारी भएको र जिल्लाका सबै गाबिसहरुबाट एवम जिल्ला बाहिरबाट ब्यापारीहरु लगायत राजनीतिक दलहरुका केन्द्रिय नेता- कलाकारहरु आउने क्रम सुरु भएको छ, उता सबै गाउँ- गाउँमा भैलो खेल्ने क्रम जारी नै छ। अर्घाखाँचीमा एकादशी सम्म नै भैलो खेल्ने गरिन्छ। यस वर्षको ठूलो एकादशी २० नोभेम्बर २००७ अर्थात मंसिर ४ गते परेको छ ।

उता हाम्रा अर्घाखाँची टाईम्सका काठमाडौंस्थित समाचारदाता लेखछन् , हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा अधिराज्यभर हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् । बुढानीलकण्ठलगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ । हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ-आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन् । हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन् । हरिशयनी एकादशी (निर्जला एकादशीका) देखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यताअनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ । तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्टस्थान ओगटेको छ । चिकित्सकहरूकाअनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महफ्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।

-माथिको फोटो Purushartha B.Shah नाममा,कृष्ण जिसीको ईमेल बाट प्राप्त भएको हो।