Sunday, October 28, 2007

अर्घाखाँचीमा उत्पादित कफी अमेरिकालगायत अरब राष्ट्रका बजारमा निर्यात



अर्घाखाँची-नेपालको अर्घाखाँची जिल्लामा उत्पादित कफीले अमेरिकालगायत अरब राष्ट्रमा बजार पाएको छ। त्यहाँ उत्पादित कफी विदेश निर्यात हुँदा आयआर्जनको सजिलो उपाय कफीखेती हुन थालेको छ। अर्घाखाँची जिल्लाबाट यसपटक अमेरिकामा मात्र 11 टन कफी निर्यात भएको छ। त्यहाँ उत्पादित कफी हल्यान्ड कफी प्रशोधन कम्पनी लिमिटेड काठमाडौँमार्फ अमेरिकामा निर्यात गरिएको जिल्ला कफी व्यवसायी सङ्घ अर्घाखाँचीले जनाएको छ। सङ्घका अनुसार कफी खरिद गर्न कम्पनी घरघरमा पुग्ने गरेपछि सदरमुकाम सन्धिखर्कमा कफी सङ्कलन केन्द्र खोली गाउँका किसानले जम्मा गरेको कफीलाई एकतृत गरी कम्पनीमार्फत अमेरिका पुगेको छ।


कफी व्यवसायी सङ्घ जिल्ला कार्यसमितिले, कम्पनीले पश्चिमाञ्चल क्षेत्र अर्घाखाँचीको कफी सबैभन्दा राम्रो तथा उत्कृष्ठ मानेको छ। गत वर्ष पनि यस जिल्लाबाट अमेरिका, जापान, कोरिया गरी 15 टन कफी निर्यात भएको तर यस वर्षभने कफीमा सेतो गवारो कीराले नोक्सान पुर्याएकाले लक्ष्यअनुसार उत्पादन नभएको बताएको छ। कफी व्यवसायी सङ्घ अगाडी जनाउँछ, कफीको माग अत्याधिक बढ्दै गएको छ, आगामी दिनमा निर्यात कोटा बढाउँदै लैजाने र उत्पादनमा वृद्धि गर्ने लक्ष्य सङ्घले लिएको र आउँदो वर्षसङ्घले जिल्लामा 18 टन कफी उत्पादन गर्ने लक्ष्य लिएको छ।
अहिले जिल्लाका 42 वटा गाविसमध्ये वाङ्ला, केरुङ्गा, बल्कोट, चिदीका, छत्रगन्ज, ठूलोपोखरा, अर्घर्षे, मरेङ, भगवती, ढाकावाङ, धारापानी गाविसलगायत 14 गाविसमा कफी खेती विस्तार गरिएको र हालसम्म 22 वटा कफी उत्पादन समूहबाट छ सयभन्दा बढी कृषक कफीखेतीमा लागेको र यस वर्ष 20 हजार बिरुवा वितरण गरी खेती विस्तार गरी व्यावसायिक कफीखेतीतर्फआकषिर्त गराउने कुरा जिल्ला कफी व्यवसायी सङ्घको योजना रहेको पनि जनाइएको छ।
यसका साथै सङ्घले, कृषकलाई उन्नत प्रविधितर्फलम्कनका लागि कफी खेतीसम्बन्धी सम्पुर्ण ज्ञान तथा प्रशोधनका लागि 14 वटा बम्पर मेसिन समूहमा वितरण गरेको छ।
यसैगरी जिल्ला कृषि विकास कार्यालयले 50 प्रतिशत बिरुवामा अनुदानको व्यवस्था, केही समूहमा सिंचाइका लागि प्लास्टिक पोखरीको निर्माणका साथै उज्यालो संस्थाले समेत प्राविधिक तथा आर्थिक सहयोग पुर्याएको कुरा जिल्ला कफी व्यावसायिक सङ्घले जनाएको छ।