Friday, September 28, 2007

पांचवर्षभन्दा अघि विभाजित कांग्रेसका दुई समूह एकीकृत,अर्घाखाँचीमा पनि एकीकरणको खुसियाली

काठमाडौं !पांचवर्षभन्दा अघि विभाजित कांग्रेसका दुई समूह मंगलवारदेखि एकीकृत भएका छन्। नेपाली कांग्रेसको पार्टी कार्यालयमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रीकका सभापति शेरबहादुर देउवाले एकीकरण दस्तावेजमा हस्ताक्षर गरेका थिए।दस्तावेजमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। एकीकृत दलको सभापतिमा प्रधानमन्त्री कोइराला नै छन्। सो अवसरमा कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि उपस्थित थिए।उनले सहमति अनुसार मर्यादाक्रममा चौथो स्थानमा रहेका पार्टी उपसभापति सुशील कोइरालालाई कार्यवाहक सभापतिको अधिकार हस्तान्तरण गरेका छन्। केन्द्रीय सदस्यको हैसियतमा रहने संस्थापक नेता भट्टराई दोश्रो र देउवा तेश्रो मर्यादाक्रममा रहने प्राप्त समाचारहरुमा उल्लेख छ।

निर्देशन

राजधानी काठमाडौंस्थित अर्घाखाँची टाईम्सका सम्वाददाता भन्छन्.-एकीकरणको घोषणा पछि इन्द्रजात्रामा जान हतारिएका सभापति कोइरालाले छोटो मन्तब्य दिँदै निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। निर्वाचनबाट गणतन्त्र स्थापना हुनेमा विश्वस्त रहेको संकेत दिँदै उनले भने, ” मंसीर ६ गते देशले कोल्टे फेर्ने दिन हो। सबैजना आजैदेखि त्यसको तयारीमा लाग्नुपर्छ।” दुई कांग्रेस एक नहुँदासम्म संसद र पार्टी कार्यालय नजाने बताउँदै आएका नेता भट्टराईले भने त्यसबारे केही बोलेनन्। यसअघि गणतन्त्रमा नजान दुबै कांग्रेसलाई सुझाव दिईरहेका उनले एक- डेढ मिनेट छोटो भाषणमा एकीकरणप्रति प्रसन्नता व्यक्त गरे। उनले भने, “धेरै कालदेखि म एकताको पक्षधर थिएं। आज त्यो सम्पन्न भएको देखेर ठूलो हर्ष- खुशी लाग्या छ। अब यसलाई एकताबद्ध राख्नु सारा कार्यकर्ताको कर्तव्य हो।” नेता देउवा पनि गणतन्त्र बारे खुलेनन्। तर उनले भने, ” मुलुकको सार्वभौमसत्ता, एकता, स्वाधीनता र राष्ट्रिय पहिचान कायम राख्दै नयाँ युगमा प्रवेश गर्नुछ।” कोइराला र भट्टराईभन्दा लामो भाषण गरेका देउवाले झिकेको पदीय बाँडफाँडको सन्दर्भले भने धेरैलाई हँसाएको थियो।
हांसो
आफूले पनि पद त्याग गरेको बताउँदै देउवाले चित्त दुखे आफूलाई हेरेर चित्त बुझाउन भनेका थिए। उनले भने, “पद नपाउँदा कतिको चित्त दुख्ला। अब जे हुनु भयो भन्ठान्नु पर्ला। सुशील दाईलाई शेरबहादुरले छोड्यो भने हामीले पनि छोडदियौँ भन्नुपर्‍यो नि त। “त्यस्तै उनले पद पाएकाहरुतर्फ संकेत गर्दै भने, ” कतिलाई ओहो बल्ल बाँचे छु बाबा भन्ने पनि लाग्यो होला। तर उत्ताउलो नहुनुहोला, घमण्ड नबढाउनु होला, के के न पाएं नभन्ठान्नु होला।”आफू प्रधानमन्त्री हुँदा माओवादी विरुद्ध लक्ष्यित संकटकाल लम्ब्याउँदा सभापति कोइराला असहमत भए पछि देउवाले संसद विघटन गरेकै कारण नेपाली कांग्रेस २०५९ साल असारको पहिलो साता दुई टुक्रा भएको थियो। मंगलवार एकीकृत भए पछि संयुक्त बैठकमा परिणत महासमितिका सदस्यहरुको भेलामा महामन्त्री रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। उनका अनुसार उक्त प्रतिवेदन पारित गर्दै महासमिति बैठक बुधवार सकिनेछ। त्यस पछि ६० वर्ष पुरानो दल गणतन्त्रवादी पार्टीमा बदलिने छ। यसैगरी हाम्रा सम्वाददाता अर्घाखाँचीबाट भन्छन्:,कांग्रेसका दुई समूह एकीकरणको घोषणा भए पछि अर्घाखाँचीका विभिन्न ठाउँहरुबाट खुसियाली जुलुसहरु निस्किएका थिए,र पदीय बाँडफाँडका लागि जिल्ला स्तरिय नेता,कार्यकर्ताहरु जुटेका छन। साथै छिट्टै नै नयाँ समितिको घोषणा गरिने छ।