Sunday, November 13, 2011

सुपा देउराली सहकारी लिमिटेडको दोस्रो साधारण सभा

अर्घाखाँचीको विकासका लागि प्रमुख आधार पर्यटन र कृषिको पुर्वाधारमा जोड दिनुपर्ने स्थानिय विकास मन्त्री टोप बहादुर रायमाझीले बताएका छन् । अर्घाखाँचीबाट काठमाडौं आई विभिन्न पेशामा आवद्ध व्यक्तिहरुले संचालनमा ल्याएको सुपा देउराली सहकारी लिमिटेडको दोस्रो साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै रायमाझीले पर्यटन तथा कृषि विकासको प्रमुख पुर्वाधार सडक निर्माण भएको बताए । आफु मन्त्री हुँदा धेरै बाटाहरु राष्ट्रिय तथा क्षेत्रीय योजना भित्र पारेको बताउदै लुम्बिनी - ढोरपाटन सडक पोखरा - सुर्खेत सडक गच्छे - भालुवाङ सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको र यी बाटाहरुले अर्घाखाँचीको पर्यटन तथा कृषि क्षेत्रमा ठुलो भुमिका खेल्ने बताए । साथै एक महिना भित्रै अर्घाखाँचीमा एयरपोर्टको शिलान्यास पनि गर्ने बताए । अर्घाखाँचीबाट काठमाडौं आइ अध्ययन गर्ने र बिभिन्न पेशामा आबद्ध युबाहरुको स्वप्रयासबाट संचालनमा ल्याएको सुपा देउराली सहकारी लिमिटेडका अध्यक्ष गोविन्द के.सी. को अध्यक्षतामा संचालन भएको दोस्रो साधारण सभा कार्यक्रम नेपाल ल क्याम्पसको सभाहलमा सम्पन्न भएको हो। यसै गरी गोपाल खनाल, अशोक कुमार क्षेत्री, हेमराज भुसाल समेतको आथित्यता रहेको कार्यक्रमको संचालन मनोज आचार्यले गर्नुका साथै स्वागत भाषण तिलक चुदांलीले गरेका थिए। उक्त कार्यक्रममा दर्जनौको उपस्थिती रहेको थियो। प्रमुख अतिथिको मार्गदर्शनलाई आत्मासात् गर्दै सुपा देउराली सहकारी लिमिटेडको बिस्तार गर्ने प्रतिबद्धताका साथ सम्पन्न भएको छ।