Friday, November 09, 2007

पत्रकार महासंघ अर्घाखाँचीले माओवादीका सम्पूर्ण समाचारहरु बहिष्कार गर्ने

अर्घाखाँची-पत्रकार महासंघ अर्घाखाँचीले बाराका पत्रकार वीरेन्द्र साहको हत्याको विरोधमा ७ दिनसम्म माओवादीका सम्पूर्ण समाचारहरु बहिष्कार गर्ने निर्णय गरेको छ । पत्रकार वीरेन्द्र साहको शव बिहीबार दिउँसो २ बजे डुमरवान-७ स्थित टांगियाबस्ती नजिक जंगलमा गाडिएको अवस्थामा फेला परेको छ । उनलाई माओवादीले असोज १८ मा अपहरण गरेका थिए । राजधानीबाट झिकाइएका प्रहरीका तालिम प्राप्त कुकुरको सहयोगमा शव गाडिएको स्थान पत्ता लागेको थियो । प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार भौमठ घाट नजिक सिमसार जमिनमा गाडिएको शव खोजीमा सँगै रहेका वीरेन्द्रका भाइ बाबुरामले चिनेका थिए । ‘घोप्टो पारेर पुरिएको अवस्थामा देखें,’ बाबुरामले भने- ‘कलम, चस्मा, प्रेस कार्ड र नागरिकता साथैमा थियो ।’ शव पुरिएको खाल्डोमा गोलीका खोकासमेत भेटिएको छ । शव बिहीबार साँझ सदरमुकाम कलैया ल्याई पोस्टमार्टम गरिएको छ । शव सडेको छ । हिन्दु संस्कारअनुसार शुक्रबार बिहान साहको दाहसंस्कार भएको शोकाकुल परिवारले जनाएको छ ।