Wednesday, October 31, 2007

झडपमा माओवादी नेतासहित १० घाइते, सन्धिखर्कमा कर्फ्यु

सन्धिखर्क,अर्घाखाँची-अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बस र जिप चालकबीच भएको विवादपछि झडप हुँदा माओवादीका जिल्लास्तरीय नेतासमेत १० जना घाइते भएका छन्। घाइते हुनेहरूमा दलित मुक्तिमोर्चा एकीकृतका केन्द्रीय सदस्य तथा माओवादी जिल्ला सचिवालय सदस्य खिमबहादुर विश्वकर्मा, जिल्ला सचिवालय सदस्य ठाकुर विक, मोहन भुसाल, सन्तोष विक, नारायण खड्का, मुनाललगायतका १० जना छन्। घाइतेमध्ये खिमबहादुर र मोहनको अवस्था गम्भीर रहेको छ।सन्धिखर्कबाट बाँगीका लागि रिजर्भ जान लागेको बसलाई जिप चालकहरूले रोक्दा विवाद उत्पन्न भएको थियो। जिप चालकहरूको आक्रमणबाट बसमा सवार माओवादीका जिल्ला नेतासमेत १० जना घाइते भएका हुन्। घाइतेमध्ये सात जना उपचारपछि घर फर्केको र तीन जनाको उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ। यसै घटनालाई लिएर अर्घाखाँची जिल्ला प्रशासनले मंगलबार साँझ ७ः४५ बजेदेखि सन्धिखर्क बजार क्षेत्रमा कर्फ्यु लगाएको छ।