Friday, October 12, 2007

दशैँ सुरु,सन्धिखर्क लगायत सबै ४२ गाबिसहरुमा घटस्थापना गरिदै


अर्घाखाँची- हिन्दुको महान् चाड बडादशैँ आज शुक्रवारदेखि पन्ध्रदिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूणिर्मासम्म दुर्गा भवानीको पूजा-आराधना गरी सन्धिखर्क लगायत सबै ४२ गाबिसहरु मनाइँदैछ । बडादशैँको पहिलो दिन शुक्रवार बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ । घटस्थापनाका बेला चित्रा नक्षत्र र बैधृति योग परेकाले घटस्थापना गर्नुभन्दा पहिले विधिपूर्वक शान्तिपाठ गर्नुपर्ने उल्लेख गरिएको छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगन लितपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअर्न्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दर्ुगा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ । बडादसैँको सातौँ दिन मलुकभर फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन जमरा विर्सजन गरी साँँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।

यस वर्ष टीका थाप्न साइत नचाहिने

राजधानी काठमाडौंस्थित अर्घाखाँची टाईम्सका सम्वाददाता भन्छन्,-यस बर्ष बडादशैँको टीकामा टीका थाप्न साइत हेर्न नपर्ने भएको छ । दक्षिण एसियाली ज्योतिष महासङ्घद्वारा आयोजित ‘प्रमुख चार्डपर्वका मुहूर्त निर्धारणपद्धति’ विषयक कार्यशालागोष्ठीमा विजयादशमीको टीकाका लागि साइत किटान नगरिएको उल्लेख गर्दै ज्योतिषविद्हरूले टीका थाप्न साइत कुर्न नपर्ने बताएका छन् । सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति विदुरप्रसाद पौडेलले महासङ्घद्वारा प्रकाशित ‘ज्योतिष वाणी’ पत्रिका विमोचन गर्दै हाम्रो संस्कृतिलाई सामाजिक परिवेश अनुसार लैजानुपर्नेमा जोड दिनुभयो ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टर्राईले दिनभर टीकाको साइत भएकोमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्नुभयो । सहायक प्राध्यापक पुरुषोत्तम भट्टर्राईले ‘दसैँमा टीकाको साइत निर्धारणसम्बन्धी परिचर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नवरात्रमा घटस्थापानादेखि विर्सजनसम्मका लागि मुहूर्तको महत्व दर्शाइए पनि प्रसादग्रहणका लागि भने खास मुहूर्त चाहिन्छ भनेर प्रचलित मुहूर्तग्रन्थमा उल्लेख नगरिएको बताउनुभयो ।